
कपिलवस्तु, असार १५ । वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गर्दै जिल्लामै छुट्टै पहिचान बनाउन सफल श्रृङ्गिघाट सामुदायिक वनले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आइरहेको छ । भौतिक विकास देखि सामाजिक कार्यमा सक्रिय यो वनले विभिन्न नमुना कार्यहरु प्रस्तुत गरिरहेको छ ।
यसैबिच राष्ट्रिय वृक्षरोपण दिवस– २०८१ को अवसरमा सामुदायिक वनले पुनः दुई उत्कृष्ट कार्य गरेको छ । वनले आज शुक्रबार चारनम्बर स्थित तौलिहवा सडक खण्डमा वृक्षरोपण र वन विज्ञान अध्यनरत विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको हो ।
श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीका अनुसार वनले कपुर निम, कल्की, बेगम बेल्ली लगायतका २ सय बिरुवाहरु तौलिहवा सडक खण्डमा रापिएको उहाँले बताउनुभयो । नेपालमा मात्र नभएर विश्वभर मै वन क्षेत्र अतिक्रमणमा परिरहेको समयमा सहर बजारलाई पनि हरियाली बनाउने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो । स्थानीय सरकार सङ्ग आफुहरुले सहकार्य गर्न खोजेको भन्दै उक्त वातावरण सृजना गरिदीन पनि उहाँले जनप्रतिनिधिहरु सङ्ग आग्रह गर्नुभयो ।
त्यस्तै वनले उपभोक्ता समुह भित्रका वन विज्ञान अध्यनरत ७ जना विद्यार्थीहरुलाई हौसला स्वरुप ३ लाख छात्रावृत्ति समेत प्रदान गरेको समुहकी सचिव कमला खाँण (सुस्मांं) ले जानकारी गराउनुभयो । ७ जना विद्यार्थीहरु मध्ये उनीहरुको आर्थिक अवस्था अनुसार रकमलाई विभाजन गरेर प्रदान गरिएको हो । आफुहरुले अन्य विषय अध्यन गर्ने विद्यार्थीहरुलाई पनि सहयोग गर्न चाहेको भएपनि पहिला वन सम्बन्धि विषय अध्यन गरेका विद्यार्थीहरुलाई सहयोग गरेको बताउनुभयो ।
यसैबिच कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले वातावरणमा असन्तुलन बढेपछि मात्र हामीले वनको महत्व बुझेको बताउनुभयो । बाणगंगा भित्रका वनहरुले वन प्रवर्द्धनमा खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै पालिका सङ्गको सहयकार्यमा काम गरे अझ प्रभावकारी हुने बताउनुभयो ।
त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मी मगरले रोपिएका बिरुवालाई जोगाउन आवश्यक रहेको बताउनुभयो । वडाले विगतमा कयौँ बिरुवा रोपेको स्मरण गर्दै केहि बिरुवा मरेको भन्दै अब लगाएका बिरुवाको रेखदेख गर्न आवश्यक रहेको बताउनुभयो ।
सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख बसन्त थापाले बिरुवा रोप्ने तरिकाको बारेमा बताउँदै वन क्षेत्रलाई विस्तार गर्न निक्कै आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वनका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।