
गोविन्द आचार्य / १९ माघ २०८२
रुपन्देही । कञ्चन गाउँपालिका ३ प्रतापुर (जिगनिया) मा पालिकास्तरीय क्रिकेट प्रतियोगिता ‘कञ्चन क्रिकेट लिग–२०२६ (KCL)’ आयोजना हुने भएको छ। कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका तथा सैनामैना नगरपालिकाका खेलप्रेमी तथा युवाहरूलाई लक्षित गरी आयोजना हुन लागेको यस प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा क्रिकेट खेलको विकास गर्नुका साथै युवाहरूमा खेलभावना, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
रेनबो एकेडेमीको आयोजनामा तथा समाजसेवी समीर ढकालको सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता कञ्चन गाउँपालिका ३ स्थित धामिनताल खेलमैदानमा यही आउँदो माघ २५ गतेदेखि सुरु हुनेछ। प्रतियोगितामा विभिन्न पालिकाबाट सहभागिता जनाउने क्रिकेट टोलीहरूबीच प्रतिस्पर्धा गराइनेछ। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार रुपैयाँ नगद, द्वितीय हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यसका साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित गरी ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ बापत ५०० रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूका लागि ४ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। आयोजक समितिले खेलाडी तथा टोलीहरूलाई समयमै टिम दर्ता गराउन आग्रह गरेको छ। प्रतियोगितामा स्थानीय तथा छिमेकी पालिकाका युवाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगिताले स्थानीय युवाहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। यस्ता प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै लागूपदार्थ दुव्र्यसन र नकारात्मक गतिविधिबाट टाढा राख्न सहयोग पुग्ने आयोजकको भनाइ छ।
साथै आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन समाजका सबै तहका नागरिक, खेलकुद क्लब, आमा समूह, पत्रकार, सामाजिक अभियन्ता तथा जनप्रतिनिधिहरूलाई उपस्थित भई सहयोग गर्न हार्दिक अनुरोध गरेको छ। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको प्रवर्द्धन र युवा प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।











