स्याङ्जाको कोटाकोटमा व्यवसायिक मेवा खेती सुरु, मेवाको पकेट क्षेत्रका रूपमा विकास गर्ने

स्याङ्जा ,९ असार ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा उन्नत जातको मेवाको व्यवसायिक खेती सुरू गरिएको छ। गाउँपालिकाको वडा नम्बर-२ कोटाकोटमा उन्नत जातको मेवाको व्यावसायिक खेती सुरू गरिएको हो  । ४० बढी किसानले मेवा खेती सुरू गरेका छन् । ५ सय मेवाका विरुवा वितरण गरिएको छ । मेवा खेती परीक्षणका लागि यहाँका किसानलाई उन्नत जातका मेवाका विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले बताउनु भयो ।

रेड लेडी प्रजातिका विरुवा वितरण गरिएको यस ठाउँलाई मेवाको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको समेत उउहाँले बताउनु भयो ।

परम्परागत मेवा खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउन लागिएको  र गाउँपालिकामा पोषण कार्यक्रम समेत लागू भएको छ । मेवाले आम्दानी सँगै पौष्टिक तत्व दिन्छ । गाउँपालिकाले अगाडि बढाएको पोषण कार्यक्रमलाई समेत मेवा खेतीले मद्दत पुग्ने अध्यक्ष थापाले बताउनु भयो।

उपाध्यक्ष सावित्रा कोइरालाले गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएको बताउदै उहाँले यहाँ केरा, कागती लगायतका खेतीमा किसानलाई व्यवसायिक बनाउन गाउँपालिकाले सहयोग गरेको र  यस वडामा मेवा खेतीको लागि छनोट गरिएको उहाँले बताउनु भयो । औषधिको रूपमा पनि प्रयोग हुने मेवा पछिल्लो समयमा लोप हुँदै गएको उनले बताउनु भयो ।

यहाँका कृषकलाई आत्मनिर्भर बनाउन प्रयास भइरहेको छ। कृषकको आम्दानी वृद्धि गर्नका लागि गाउँपालिकासँग साझेदारी कार्यक्रम गरिएको हेफर ईन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेयले बताउनु भयो ।

बाख्रा, बंगुर, दुध, तरकारी लगायतका उपजहरूमा व्यवसायिक उत्पादनको लागि काम गरिएको उनले बताउनु भयो । कालीगण्डकी गाउँपालिका र हेफर परियोजना नेपालको साझेदारी, सामाजिक स्रोत विकास केन्द्र नेपालको सहजिकरणमा कालीगण्डकी गाउँपालिकामा कृषि तथा पशु विकास परियोजना संचालन भएको छ।

परियोजनाले गाउँपालिकालाई गेडागुडी, दुध, बाख्रा तथा बंगुर लगायतका उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न वडाहरूमा कृषक समूह गठन गरी समूह व्यवस्थापन, कृषि तथा पशुपालनका तालिम, आधारशिला तालिम, विउविजन वितरण र प्राविधिक सहयोग गर्दै आएको छ ।

मेवा खेतीले यहाँका किसानलाई आर्थिककोपार्जन टेवा पुग्ने वडा नं २ का वडाअध्यक्ष खगिसरा आलेले बताउनु भयो ।

अहिले परीक्षणका लागि यहाँ मेवा खेतीको सुरुवात गरिएको हो। अहिले १ हजार बिरुवा लगाउने योजन रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख होम प्रसाद श्रेष्ठले बताउनु भयो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation