निर्माण व्यवसायी सम्पर्कमा नआउँदा अस्पताल भवन निर्माणकाे काम अलपत्र

रामेछापकाे खाँडादेवी गाउँपालिकाले आफ्नै लगानीमा खाँडादेवी गाउँपालिका–५ सुलि थुम्का सामुदायिक वनमा निर्माण शुरु गरेकाे १५ शय्याकाे अस्पताल काम साढे तीन वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण अस्पताल भवन अलपत्र परेकाे हाे ।

नागरिकलाई पालिकामा नै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले टेन्डर आह्वान गरेकाे थियाे । गाउँपालिकाले तीन कराेड ७२ लाख रुपैयाँमा २०८० असार मसान्तभित्र भवन निर्माण सम्पन्न गर्नेगरी आत्रिय शिवको बस्नेत जेभीसँग सम्झौता गरेको थियो ।

तर निर्माण कम्पनीले केही काम शुरु गरेर काम छाडेका थिए । धेरै समयसम्म काम छाडेर निर्माण कम्पनी सम्पर्कविहीन भएकाे अवस्थामा गाउँपालिकाले पटक–पटक पत्राचार गरेकाे थियाे । त्यसपछि सम्पर्कमा आएकाे कम्पनीले एक तला भवन ढलान गरेर हिँडेपछि अहिलेसम्म फर्किएकाे छैन । कम्पनीले अहिलेसम्म ढलान गरेकाे फर्मासमेत निकालेकाे छैन ।

अस्पताल भवन निर्माणकाे जिम्मा लिएका ठेकेदार अहिले गाउँपालिकाको सम्पर्कमा छैनन् । गाउँपालिकाले पटक–पटक पत्राचार गर्दासमेत व्यवसायीले अटेर गरेका कारण भवन निर्माणकाे काम अलपत्र परेकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयाे । भवन नबन्दा अहिले पुरानै भवनवाट स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे उहाँले बताउनुभयाे ।

‘अहिले भएको भवन जीर्ण अवस्थामा रहेको छ । भवन अभावकै कारण सहज तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकेका छैनौँ । जसका कारण सेवाग्राही स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम मन्थली, छिमेकी जिल्ला काभ्रेको धुलिखेल त कोही सङ्घीय राजधानी काठमाण्डाैका अस्पतालमा जाने गरेका छन्’, स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भन्नुभयाे ।

निर्माण व्यवसायी सम्पर्कमा नआएपछि ठेक्का सम्झौता तोड्ने अवस्थामा पुगेकाे गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुंगेल बताउनुहुन्छ । यस वर्ष सङ्घीय सरकारबाट ४८ लाख रुपैयाँ बजेट प्राप्त भएको र त्यही रकमबाट भवनमा ट्रस निर्माण गरेर भए पनि स्वास्थ्य सेवा प्रवाह गर्नेगरी काम अघि बढाइएको उहाँले बताउनुभयाे ।

गाउँपालिकाले अस्पताल भवन निर्माणका लागि छुट्याएको तीन करोड ७२ लाखमध्ये एक करोड ३० लाख रुपैयाँ पालिकाकै खातामा रहेको छ । निर्माण व्यवसायीले काम अघि नबढाउँदा बाँकी रकम खर्च हुन सकेकाे छैन ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation