सैनामैनाबाट आवश्यक सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान

शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परेका प्रभावितहरुलाई राहत सहयोग दिने उद्देश्यले रुपन्देहीको सैनामैना नगर क्षेत्रबाट आईतबार सहयोग सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
रुपन्देही सेवा समाज युएई, सैनामैना सेवा समाज युएई र सैनामैना युवा रेडक्रस सर्कल र सैनामैना युथक्लवले भुकम्प प्रभावितलाई आवश्यक चामल, नुन, कपडा, त्रिपाल, चाउचाउ, बिस्कुट, खानेतेल, म्याट, चिउरा, टुथपेष्ट र साबुन लगायतका अत्यावश्यक सामान सहित टोली आईतबार त्यसतर्फ प्रस्थान गरेको हो ।
त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले भुकम्प प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहत सामाग्री पु¥याउन सामाजिक संघ संस्थाहरुले जुन प्रयास गरेर यहाँबाट प्रस्थान गरेका छन, त्यसका लागि धन्यबाद दिदै यस प्रकारका कामले प्रभावितहरुलाई सहयोग पुग्ने विश्वासब्यक्त गर्नुभयो ।

रुपन्देही सेवा समाज युएइएका अध्यक्ष टंक थापा मगर र उपाध्यक्ष कला पंगेनीले भुकम्पले पु¥याएको क्षतिबाट प्रभावितलाई राहत सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न सहितको सामाग्री पठाउन लागेको बताउनु भयो ।

त्यसैगरी सैनामैना सेवा समाज युएईका नेपाल शाखा प्रमुख कृष्णप्रसाद पाण्डेले भुकम्प प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले युएईमा रहनुभएका समाजका साथीहरुको सल्लाह बमोजिम संकलन भएको राहत भुकम्प प्रभावित क्षेत्रमा पठाएको बताउनु भयो ।

त्यसैगरी सैनामैना युवा रेडक्रस सर्कल तथा नमूना युथ क्लबका अध्यक्ष महेश अधिकारीले सैनामैनाबाट संकलन भएको राहत सामाग्री प्रभावित क्षेत्रमा बितरण गर्ने र त्यहाँको बस्तुस्थिति बुझेर अरु सहयोगका लागि पनि सकृय भएर लाग्ने उल्लेख गर्नुभयो ।राहत सामाग्रीमा सैनामैना सेवा समाज युएईले त्रिपाल २० थान, चिउरा २० प्याकेट, टुथपेष्ट २० सेट र साबुन एक प्याकेट सहयोग गरेको छ । त्यसैगरी रुपन्देही सेवा समाज युएईले पाँचसय केजी चामल, ५० लिटर तेल र एक बण्डल म्याच उपलब्ध गराएको छ । त्यसैगरी सैनामैना युवा रेडक्रस सर्कलले चामल २ सय ५० केजी, नुन ३ बोरा, कपडा ट्रयाक १६ सेट तथा त्रिपाल ५ पिस उपलब्ध गराएको छ । उता सैनामैना युथ क्लवले चामल १५० केजी, चाउचाउ ८ कार्टुन र बिस्कुट २ कार्टुन उपलब्ध गराउने भएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation