कञ्चन क्रिकेट लिग सिजन १ : सुनौलो शान्तिले उपाधी हात पार्दै रोमाञ्चक फाइनल सम्पन्न

रुपन्देही, फागुन ४ / २०८२
गोविन्द आचार्य

राष्ट्रका खेलकुद स्वास्थयका लागी खेलकुद भन्ने मूल नाराका साथ रुपन्देहीको कञ्चनमा जारी कञ्चन क्रिकेट लिग सिजन – १ २०८२ प्रतियोगिता सुनौलो शान्ति क्रिकेट टिमले उपाधी हात पारेको छ। कञ्चन, गैडहवा र सैनामैनाका १४ टिमहरूको सहभागिता रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा आरके बरकट १७ लाई १८ रनले पराजित गर्दै सुनौलो शान्तिले विजयी भएको हो। प्रतियोगिता शान्ति सिद्धार्थ युवा क्लब, कञ्चन ३ प्रतापपुरको आयोजनामा सम्पन्न भएको थियो। प्रतियोगिता माघ २५ गतेबाट धमिनाताल खेलमैदान, कञ्चन ३ हरैया, रुपन्देहीमा सुरु भएको थियो र फागुन ३ गतेको फाइनलसँगै समापन भएको हो।
प्रतियोगिताको सेमीफाइनल चरणमा आरके बरकट १७ ले दिव्यज्योतिलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। त्यस्तै, सुनौलोशान्ति क्रिकेट टिमले शान्ति सिद्धार्थलाई हराउँदै अर्को फाइनल स्थान सुरक्षित गरेको थियो। फाइनलमा टस जितेर ब्याटिङ्गमा उत्रिएको सुनौलो शान्तिले १५ ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनायो। आरके बरकट १७ का खेलाडीहरूले ८९ रनको लक्ष्य पूरा गर्न प्रयास गर्दा १२ ओभरमा १० विकेट गुमाउँदै मात्र ७० रनमा सिमित भए। यस प्रदर्शनसँगै सुनौलो शान्तिले प्रतियोगिताको उपाधी सुरक्षित गरेको हो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान दिइएको थियो। आरके बरकट १६ का प्रविन कुर्मीले फाइनलमा ४ विकेट लिएर म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडीको सम्मान आरके बरकटका पशुपति यादवले प्राप्त गरे। विजेता र उपविजेतालाई नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। विजेता सुनौलो शान्तिले ३०,००० रुपैयाँ र उपविजेता आरके बरकट १७ ले १५,००० रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको समापन कार्यक्रममा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। उहाँले स्थानीय खेलकुद क्षेत्रको विकासमा क्लब र संघसंस्थाहरूको योगदान अतुलनीय रहेको भन्दै, सरकारको पर्याप्त नीति र लगानी नहुँदा स्थानीय तहमा खेलकुदको विकासमा चुनौती आएको स्वीकार गर्नु भएको थियो।

प्रतियोगितामा रेन्वो एकेडेमी एण्ड एजुकेशनल कन्सलटेन्सी प्राईभेट लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर तथा शान्ति सिद्धार्थ युवा क्लबका अध्यक्ष समिर ढकालले युवाहरूमाझ खेलकुदसँगै सामाजिक चेत र सही-गलत छुट्याउने क्षमता विकास हुनु आवश्यक रहेको बताए। उहाँले भन्नु भयो “युवाहरूमा केवल खेलकुद मात्र होइन, सही र गलत छुट्याउने चेत विकसित हुनुपर्छ। यदि समयमै निर्णय क्षमता विकास गर्न सकिएन भने भविष्यमा युवा वर्ग असल नागरिक बन्नबाट वञ्चित हुन सक्छन्। खेलकुदले मात्र नभई, व्यक्तिगत अनुशासन, सहकार्य र नेतृत्व क्षमता विकासमा पनि योगदान दिन्छ।”
साथै म्यानेजिङ्ग डाइरेक्टर समिर ढकालले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद व्यक्त गर्दै आगामी कञ्चन क्रिकेट लिग सिजन २ निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभएको थियो। उहाँले उपस्थित अतिथिहरूलाई मायाको चिनो समेत दिँदै कार्यक्रमलाई थप सुमधुर बनाउनु भयो।
कञ्चन क्रिकेट लिग २०८२ ले स्थानीय खेलकुद क्षेत्रको प्रवर्द्धन मात्र गरेको छैन, यसले युवाहरूलाई टोली भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमतामा सुधार ल्याउने अवसर पनि प्रदान गरेको छ। प्रतियोगितामा १४ टिमहरूको सहभागिता भएको थियो, जसमा कञ्चन, गैडहवा र सैनामैनाका विभिन्न युवा क्लबहरू सहभागी थिए।
कार्यक्रममा कञ्चन गाउँपालिकाका वडा न ३ का निवर्तमान वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, राष्ट्रिय युवा संघ कञ्चनका अध्यक्ष तथा नेकपा एमाले कञ्चन गाउ कमिटिका उप सचिव जीवन क्षेत्री, इलाका प्रहरी कार्यालय रुद्रपुरका निरीक्षक अनिश खड्का, अस्थायी प्रहरी पोस्ट प्रतापपुरका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी आशिका ज्ञवाली, रेन्वो एकेडेमी एण्ड एजुकेशनल कन्सलटेन्सी प्राईभेट लिमिटेड कलौनी शाखाका म्यानेजर प्रदिप सापकोटा, खेल संयोजक सूर्य बहादुर कुँवर लगायत स्थानीय खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
फाइनल खेलको आँकडा अनुसार, सुनौलो शान्ति टिमले टस जितेर ब्याटिङ्ग गर्दा प्रारम्भिक ओभरहरूमा सतर्क खेल खेल्यो। उनीहरूले १५ ओभरमा ७ विकेट गुमाउँदै ८८ रनको सम्मानजनक स्कोर बनाएका थिए। यसले विपक्षी टोली आरके बरकट १७ माथि दबाब सिर्जना गर्‍यो। आरके बरकट १७ ले ८९ रनको लक्ष्य लिँदा, सबै विकेट १२ ओभरमा गुमाउँदै ७० रनमा सिमित भयो।
प्रतियोगिता रेन्वो एकेडेमी, कञ्चन ३ हरैया, रुपन्देहीको प्रायोजनमा सम्पन्न भएको थियो। क्लब र स्थानीय युवा पहलकर्ताहरूको सक्रिय सहभागीता रहेको यस प्रतियोगिताले स्थानीय खेलकुद र युवा विकासमा ठूलो योगदान पुर्‍याएको छ।
शान्ति सिद्धार्थ युवा क्लबका अध्यक्ष समिर ढकालको अध्यक्षता तथा सञ्चारकर्मी गोविन्द आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ। स्थानीय खेलप्रेमी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न प्रतियोगिताले कञ्चन क्षेत्रमा खेलकुदप्रतिको उत्साह अझ बढाएको विश्वास गरिएको छ।

© 2026 सुरभी खबर All right reserved Site By : Himal Creation