सफल शिक्षाको २५ वर्ष: बुद्धदीप बोर्डिङको रजत जयन्ती आज देखि सुरु

गोविन्द आचार्य ०४ माघ २०८२
रुपन्देहीको कञ्चन गाउँपालिका ५ स्थित बुद्ध दीप इङ्ग्लिस बोर्डिङ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह अन्तर्गतको मूल कार्यक्रम आज देखि औपचारिक रूपमा शुरु भएको छ। विद्यालय स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको रजत जयन्तीको मुख्य समारोह आगामी २०८३ साल बैशाख १० गते भव्य रूपमा मनाइने विद्यालयले जनाएको छ। रजत जयन्ती मूल समारोहको पहिलो दिन विद्यालयको वार्षिक खेलकुद प्रतियोगिता २०८२ को समेत शुभारम्भ गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी कान्त पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णु नारायण श्रेष्ठले बुद्ध दीप इङ्ग्लिस बोर्डिङ स्कुल केवल शिक्षण संस्था मात्र नभई समुदायको शैक्षिक रूपान्तरणको केन्द्रको रूपमा विकसित भएको बताउनुभयो। उहाँले स्थापनाकालमा सीमित स्रोतसाधनका बीच शुरु गरिएको विद्यालय आज २५ वर्ष पूरा गर्दै रजत जयन्ती मनाउने अवस्थामा पुग्नु गौरवको विषय रहेको उल्लेख गर्दै यो सफलता शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापनको सामूहिक प्रयासको परिणाम बताउनु भयो । उहाँले आगामी दिनमा विद्यालयले अझ गुणस्तरीय र व्यवहारिक शिक्षा दिन सक्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै विद्यालयका सल्लाहकार सदस्य बालकृष्ण पराजुलीले शिक्षा क्षेत्रमा दीर्घकालीन सोच आवश्यक रहेको उल्लेख गर्दै बुद्ध दीप इङ्ग्लिस बोर्डिङ स्कुलले समयअनुसार आफूलाई परिमार्जन गर्दै आएको बताउनुभयो। उहाँले पढाइसँगै खेलकुद, अनुशासन र नैतिक शिक्षालाई समान महत्व दिन सक्नु नै विद्यालयको विशेषता भएको बताउनु भयो । यसले विद्यार्थीलाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै विद्यालयको भावी योजनाप्रति विश्वास व्यक्त गर्दै रजत जयन्तीले नयाँ उचाइमा पुग्ने आधार तयार गर्ने बताउनुभयो।
कार्यक्रमका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी कान्त पौडेलले आफ्नो अध्यक्षीय मन्तव्यमा विद्यालयको २५ वर्षे यात्रालाई सम्झँदै शिक्षा क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको चर्चा गर्नुभयो।
कार्यक्रममा आफ्नो भनाइ राख्दै विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलले पढाइसँगै खेलकुद, संस्कार र व्यवहारिक शिक्षामा विद्यालयले विशेष जोड दिँदै आएको बताउनुभयो। उहाँले विद्यालयको भावी योजनाबारे जानकारी दिँदै आगामी शैक्षिक वर्षदेखि होटल म्यानेजमेन्ट विषय सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै केही वर्षभित्रै स्नातक (Bachelor) तहका कक्षा सञ्चालन गर्ने दीर्घकालीन योजना समेत रहेको उहाँको भनाइ थियो।
प्रधानाध्यापक पौडेलले बुद्ध दीप इङ्ग्लिस बोर्डिङ स्कुल शैक्षिक मात्र नभई खेलकुद क्षेत्रमा पनि सफल विद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो। उहाँका अनुसार विद्यालयले ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आधारभूत तहतर्फ प्रथम र माध्यमिक (मा.वि.) तहतर्फ द्वितीय स्थान हासिल गर्न सफल भएको छ, जसले विद्यालयको सर्वाङ्गिण विकासको प्रमाण प्रस्तुत गरेको उहाँले बताउनुभयो। प्रधानाध्यापक पौडेलले माघ ९ गते सरस्वती पूजा तथा अक्षरारम्भको अवसरमा विद्यालयमा भर्ना पूर्ण रूपमा निःशुल्क गरिने जानकारी गराउँदै आफ्ना नानीबाबुहरूलाई सोही अवसरमा विद्यालयमा भर्ना गरिदिन अभिभावकहरूलाई अनुरोध गर्नु भएको छ ।
रजत जयन्ती समारोह अन्तर्गत आजदेखि शुरु भएको वार्षिक खेलकुद प्रतियोगितामा दौड, लङ जम्प, हाइ जम्प, रिले दौड लगायतका विभिन्न खेलकुद विधाहरू समावेश गरिएका छन्। प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। विद्यालय परिवारले रजत जयन्तीलाई स्मरणीय बनाउने उद्देश्यले खेलकुद, शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू आयोजना गरिने जनाएको छ। विद्यालयले आगामी दिनमा अझ व्यवस्थित र प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्दै समुदायको भरोसा योग्य शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक देवीराम पौडेलले उपस्थित अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष शर्माले गर्नुभएको थियो।

© 2026 सुरभी खबर All right reserved Site By : Himal Creation