
‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
सामूहिक शवयात्रापछि उनीहरूकाे अन्त्येष्टि गरिएकाे हाे । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने ४ जनाको पशुपतिमा अन्त्येष्टि गरिएकाे हाे ।
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याललगायत पनि सहभागी हुनुभएको थियाे । मन्त्रीहरू घिसिङ र अर्यालले मृतककाे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै सशस्त्र प्रहरी बलले मृतकप्रति सलामी अर्पण गरेकाे थियाे ।
गएको भदाै २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको पोस्टमार्टमपछि आज परिवारलाई जिम्मा लगाइएकाे हाे । कतिपयको यसअघि नै अन्त्येष्टि भइसकेको छ ।
सरकारले भोलि शोक बिदा दिएको छ । मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ ।