सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब दशैँअघि नै

नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयमा काम शुरू गर्न बाँकी छ ।

‘जेन–जी’ प्रदर्शनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड भएको थियो । सरकारको भुक्तानी प्रणाली सञ्चालनमा आएकोले सरकारको ढुकुटीबाट कर्मचारीले दशैँ अगाडि नै तलब–भत्ता पाउने भएका छन् ।

सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको मन्त्रालयले जनाएको छ । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलब–भत्ता र सामाजिक सुरक्षाको भुक्तानी हुनेछ । अर्थ मन्त्रालयको सानो भवन बाहेक प्रायः सुरक्षित छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation