युवा मारिएका र घाइते भएका घटनाप्रति अन्तर्राष्ट्रिय समुदायहरुद्वारा निन्दा

नेपालमा युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायहरुले निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय, संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफ, एमनेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले सुरक्षाकर्मीबाट गैरकानूनी रुपमा बल प्रयोग गरी शान्तिपूर्ण आन्दोलन गरिहेका युवामाथि  दमन गरेको भन्दै निन्दा गरेका हुन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले घटनाको छिटो र पारदर्शी छानबिनको माग गरेको छ ।

कार्यालयकी प्रवक्ता रिवना शामदासनीले भिडियो नोट सार्वजनिक गर्दै जेनजी आन्दोलनमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै छानबिनको माग गर्नुभएको हो । भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका युवामाथि दमन भएकोबारे धेरै उजुरीहरु आएको भन्दै कार्यालयले आधारभूत सुरक्षा मापदण्ड पालना गराउन सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको छ । शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान र सुनिश्चित गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

युनिसेफले प्रदर्शनमा बालबालिकामाथि हिंसा भएको भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाल संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको कुरा पनि युनिसेफले स्मरण गराएको छ । यो अभिसन्धिअनुसार बालबालिकालाई सङ्गठित हुने स्वतन्त्रता र शान्तिपूर्णरूपमा भेला हुन पाउने अधिकार रहेको युनिसेफले उल्लेख गरेको छ ।

मानवअधिकारीवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी नेतृत्वमा भएको प्रदर्शनमा भएको दमनका क्रममा प्रहरीले घातक बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

सरकारले घटनाको तत्काल, गहन, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्ने र दोषी ठहरिएका सबैलाई फौजदारी अभियोजनसहित पूर्णरूपमा जवाफदेही बनाउनुपर्ने एम्नेस्टीले जनाएको छ । संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयले नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।

© 2026 सुरभी खबर All right reserved Site By : Himal Creation