लाल सागरमा समुद्रमुनिकाे तार काटिँदा एशिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

लाल सागरमा समुद्रमुनिको तार काटिँदा एशिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले बताएका छन् । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियान अन्तर्गत तारहरूलाई लक्षित गरेको आशङ्का गरेको समाचार संस्था एपीले जनाएको छ ।

यसलाई गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाव दिने प्रयासका रूपमा व्याख्या गरिएको छ । यद्यपि हुथीहरूले भने यसअघि यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गर्दै आएका छन् ।

स्याटेलाइट जडान र भूमिगत तारहरूसँगै समुद्रमुनिका तारहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन् जसले कुनै एक असफल भएमा त्यसको प्रवाहलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ ।

माइक्रोसफ्टले आफ्नो अवस्था वेबसाइटमार्फत सार्वजनिक गर्दै लाल सागरमा समुद्रमुनि तार काटिएका कारण समस्या हुनसक्ने बताएको छ । अमेरिकाकाे वाशिङ्गटनको एक कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्वबाहेकको अरू ठाउँको इन्टरनेट सेवा भने प्रभावित नभएको स्पष्ट पारेको खबरमा उल्लेख छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation