
नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीको औपचारिक धारणा बनाउने भएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले याे निष्कर्ष निकालेको हो । सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्नेबारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीले औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभएर दर्ता प्रक्रियाका लागि मात्रै सरकारले निर्णय गरेको कुरा आफूलाई जानकारीमा रहेको बताउनुभएको थियो ।
बैठकमा कांग्रेस महामन्त्री गगन थापासहित धेरैजसो नेताहरूले सामाजिक सञ्जाललाई कानून बनाएर मात्रै नियमन गर्नुपर्नेमा निर्देशिकामा टेकेर काम गर्न खोज्दा अप्ठ्यारो परेको बताउनुभएको छ ।महामन्त्री थापाले सहजै यो विषय टुङ्गिने अवस्थामा नभएकाले पार्टीले यसबारेमा प्रष्ट लाइन लिनुपर्ने बताउनुभयाे ।