
काठमाण्डाै – संसदीय समितिले हवाई दुर्घटनाका बारेमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकले नेपालमा ५ वर्षयता भएका घटनाहरूलाई आधार मानी सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्न निर्देशन दिएको हो ।
हवाई तथा उड्डयन सुरक्षासम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारलाई यस्तो निर्देशन दिएको समितिका सभापति राजकिशोर यादवले बताउनुभयो । उहाँका अनुसार पर्यटनमन्त्री, पर्यटन सचिवलगायतका उच्च अधिकारी तथा कानूनविद् सहभागी बैठकमा भएको छलफलका आधारमा २ बुँदे निर्देशन दिइएको हो । अर्को निर्देशनमा हवाई सुरक्षासम्बन्धी कानूनी व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र नीतिगत व्यवस्थासँग मेल खाने गरी प्रभावकारी बनाउन सरकार तथा पर्यटन मन्त्रालयलाई भनिएको छ ।
आजको बैठकमा सांसदहरूले सौर्य एअरलाइन्स दुर्घटनाबारे अध्ययनका लागि गठित आयोगको प्रतिवेदन निष्पक्ष नभएको भन्दै न्यायिक छानबिनको माग गरेका थिए ।