चाडपर्व नजिकिंदै गर्दा कञ्चनमा बजार अनुगमन

२०८२ भदौ २ सोमबार / आषिका ज्ञवाली

कञ्चन गाउँपालिका  / चाडपर्व नजिकिंदै गर्दा रुपन्देहीको कञ्चन गाउँपालिकाले उपभोक्ता हक, हित र अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमन कार्य सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै  कञ्चन ३ हरैया बजार स्थित खाद्यान्न तथा किनारा पसलमा अनुगमन तथा निरीक्षण गरिएको छ । कञ्चन गाउँपालिका ३  हरैयाको व्यस्त बजारका पसलहरुको अनुगमन तथा निरीक्षण गर्दा अधिकांश पसलमा राखिएका खाद्यन्न सामाग्रीमा म्याद गुज्रेको भेटिएको थियो ।
अनुगमनका क्रममा जिरा मसला, चियापत्ती, आटा, चाउचाउ, करेन्ट मःम मसला,करेन्ट चाउमिन मसला,  बिर्यानी मसाली, चिज बल्स, कस्मेटिक सामाग्री, मिठाई, अचार, घिउ, तेल, सरफ,कण्डम लगाएतका सामग्रीमा म्याद गुज्रेको भेटिएको कञ्चन गाउँपालिका प्रशासकीय अधिकृत  तथा सूचना अधिकारी गिरीराज अर्यालले जानकारी दिनुभयो ।
पसल नबिकरण नगरेको, सामग्रीको मूल्य सूची नराखिएको, मूल्य एकरुपता नभएको, लेवल र तौल नलेखिएको खाद्यान्न सामग्री प्याकिङ गरि बिक्री गर्दै आएको भेटिएको छ । पसलधनीलाई आवश्यक काजगात र प्रक्रिया पूरा गरी पसल सञ्चालन गर्न, खाद्यान्न सामग्री खरिद तथा खरिदमा आवश्यक ध्यान दिन र म्याद गुज्रेका सामग्री नबेच्न सचेत गराइएको कञ्चन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन संयोजक मौसमी थापा मगरले  बताउनु भयो  ।
म्याद गुज्रेका अखाद्य वस्तुलाई अनुगमन टोलीले संकलन गरी नष्ट गरेको छ । आउँदै गरेका चार्डपर्वलाई मध्यनजर गर्दै कञ्चन गाउँपालिकालेबजार अनुगमनलाई नियमित गर्ने जनाएको छ । अनुगमनमा कञ्चन गाउँपालिका कार्यपालिका सदस्य कुमारी घर्ती, वडा न ३ का वडा सदस्य दिपक अधिकारी, कञ्चन गाउँपालिका का एम।आई।एस ।अपरेटर सुरेन्द्र पोखरेल, कञ्चन गाउँपालिका वडा न ३ का वडा सचिव वृष बहादुर पुलामि, इलाका प्रहरी कार्यालय थकालीचोकका प्रमुख अनिस खड्का, सामुदायिक रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्य, नेपाल प्रहरी, नगर प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation