
कञ्चन, १६ माघ २०८२ गोविन्द आचार्य

सहिद दिवसको अवसरमा जेसीआई कञ्चनको आयोजनामा वीर सहिदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गाउँपालिका वडा नं. ३ हरैया चोकमा साँझ ६ बजे आयोजना गरिएको उक्त कार्यक्रम २०२६ का अध्यक्ष जेसी निरोज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, नेपाल जेसिसका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले विशेष वक्ताका रूपमा मन्तव्य व्यक्त गर्नुभयो। वक्ताहरूले राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता र लोकतन्त्र स्थापनाका लागि वीर सहिदहरूले गरेको अमूल्य बलिदानको उच्च सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। साथै सहिदहरूको सपना साकार पार्न इमान्दारी जिम्मेवारी र सकारात्मक सोचका साथ समाज निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभयो।
वक्ताहरूले वर्तमान पुस्ताले सहिदहरूको इतिहास र योगदानलाई सम्झेर राष्ट्रप्रति उत्तरदायी नागरिक बन्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उनीहरूले सहिदहरूको त्यागकै कारण आज स्वतन्त्र रूपमा बोल्न, लेख्न र अधिकार उपयोग गर्न पाएको भन्दै ती उपलब्धिहरूको संरक्षण र संवर्धन गर्नु सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा दीप प्रज्वलन गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा जेसीआई कञ्चनका पदाधिकारी, सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन जेसीआई कञ्चनका महासचिव जेसी कृष्ण सापकोटाले गर्नुभएको थियो। सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै जेसीआई कञ्चनले यस्ता राष्ट्रिय महत्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।











