
निर्वाचन आयोगले राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको छ । अनलाइन फारम भर्न पाए पनि बायोमेट्रिकका लागि निर्वाचन कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्न थालेको हो ।
प्राविधिक तयारी र परीक्षणका काम सकेर राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
अब राष्ट्रिय परिचयपत्र नम्बरसहित अनलाइनबाट फाराम भरेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्नेछ । यसले व्यक्ति स्वयम् निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ ।
यस्तै अहिले विदेशमा रहेकाहरूसँग पनि राष्ट्रिय परिचयपत्र छ भने मतदाता नामावलीमा सूचीकृत हुन पाउनेछन् । फागुन २१ गतेको चुनावमा मताधिकार प्रयोग गर्नका लागि नाम दर्ता गराउने समयसीमा यही कात्तिक ३० गतेसम्म मात्रै रहेको छ ।











