
अस्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पर्थमा रहेको जलयान निर्माणस्थलमा लगानी गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ ।
पर्थमा रहेको ‘हेन्डरसन सुरक्षा’ क्षेत्रलाई अत्याधुनिक जलयान निर्माण तथा मर्मत केन्द्रमा रूपान्तरण गर्न आउँदो १० वर्षभित्र ८ अर्ब डलर लगानी गरिने अस्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लेसले जानकारी दिनुभयो । यो परियोजना सन् २०२१ मा बेलायत र अमेरिकासँगको त्रिपक्षीय सुरक्षा समझदारी ‘एयूक्यूएस’ अन्तर्गत अघि बढाइएको हो ।
अहिले अस्ट्रेलियासँग आणविक पनडुब्बीको मर्मत गर्न आवश्यक पूर्वाधार उपलब्ध छैन । त्यसैले सरकारले आउँदो १५ वर्षभित्र ३ वटा भर्जिनिया–श्रेणीका पनडुब्बी अमेरिकाबाट ल्याउने लक्ष्य राखेको र भविष्यमा आफ्नै देशमा उत्पादन गर्ने योजनासमेत बनाएको खबरमा उल्लेख छ ।
पछिल्लो समय अस्ट्रेलियाले रक्षा क्षेत्रमा लगातार लगानी बढाइरहेको छ । अस्ट्रेलियाली सरकारले सन् २०२२ को मे महिनादेखि अहिलेसम्म कुल ७० अर्ब अस्ट्रेलियाली डलर बराबरको थप रक्षा लगानी प्रतिबद्धता जनाइसकेको छ, यसमा जलयान निर्माणस्थल विस्तार योजना पनि समावेश छ ।