शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने

२८ भदौ, काठमाडौं ।। जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ ।

सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौं,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने ।

यद्यपि अहिले त्यहाँ मन्त्रालयलाई पुग्ने ठाउँ अपुग छ । त्यसैले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर भए पनि शिक्षा मन्त्रालयलाई राख्ने तयारी मन्त्रालयका अधिकारीहरुले गरेका छन्
भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो ।
शिक्षा मन्त्रालयका कोठाहरु र काठको भर्‍याङ जलेका छन् । आज शनिबार मन्त्रालयको भवनमा सरसफाइको काम भइरहेको छ ।
यसैबीच आगजनीबाट क्षतिग्रस्त गृह मन्त्रालयलाई उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको टावरयुक्त पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी गरिएको छ । सुरुमा परराष्ट्र मन्त्रालयलाई सार्ने तयारी थियो, तर प्राथमिकताको आधारमा त्यहाँ गृह मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागिएको हो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation