
बुटवल २४ भदौ ।। रुपन्देही जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप रोक्न तथा शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा आइतबार जारी आदेशअनुसार भदौ २४ गते (आज) बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित)को दफा ६ को उपदफा ३ (क) बमोजिम लागु गरिएको निषेधाज्ञाअनुसार ५ जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
प्रशासनले आदेशको उल्लंघन गर्ने वा त्यसलाई कार्यान्वयनमा अवरोध गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।











