‘जेन जी’ आन्दोलनमा प्रहरीको घातक दमन, काठमाण्डौमा कम्तीमा १४ जनाको ज्यान गयो

सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा ‘जेन जी’ भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ ।

प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १४ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट हस्पिटल बानेश्वरमा ३, सिभिल अस्पतालमा २ तथा केएमसी र त्रिवि शिक्षण अस्पतालमा १–१ जनाको ज्यान गएको छ । मृतकहरूको पहिचान खुलेको छैन ।

यस्तै अस्पतालहरूमा २ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै १ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।

काठमाण्डौको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू अघि बढ्दै बानेश्वरमा पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीहरू संसद भवन छिरेपछि प्रहरीले शुरूमा लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि अन्धाधुन्ध गोली चलाएको थियो । सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई हटाउन सकिने अवस्था हुँदाहुँदै घातक दमन गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन दबाव बढेको छ । ज्यान जाने गरी गोली लागेका घटना सबै बानेश्वर क्षेत्रमा भएका छन् ।

यस्तै झापाको दमकमा पनि गोली चलेको छ । पोखरा, बुटवल, भैरहवा, इटहरी, विराटनगरलगायतका शहरहरूमा पनि झडपहरू भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नयाँ बानेश्वर, सिंहदरबार, शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, उपराष्ट्रपति निवास लैनचौरलगायत संवेदनशील क्षेत्रमा कर्फ्यु लगाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा, जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल तथा भैरहवामा कर्फ्यु आदेश जारी गरेका छन् ।

काठमाण्डौको बानेश्वरमा कर्फ्युकै बीच पनि दिनभर प्रदर्शन भएको छ । अन्यत्र पनि कर्फ्यु आदेश तोडिएको छ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध ‘जेन जी’ ले वैकल्पिक सञ्जाल टिकटक र कतिपयले फेसबुक, ट्विटर (एक्स) लगायतबाटै प्रदर्शनको आह्वान गरेका हुन् ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation