‘जेन जी’ काे प्रदर्शनलाई मेयर शाहकाे समर्थन

 ‘जेन जी’ पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूले भोलि गर्ने भनेको प्रदर्शनलाई काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गर्नुभएको छ ।

१३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि काठमाण्डौमा प्रदर्शन गर्न लागेका हुन् । त्यही प्रदर्शनबारेमा फेसबुकमा लेखेर मेयर शाहले आफू २८ वर्ष पार भएका कारण प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उल्लेख गर्नुभएको छ ।

‘जेन जी’ पुस्ताको प्रदर्शन भोलि काठमाण्डाैको माइतीघर मण्डलमा बिहान ११ बजे हुनेछ । सामाजिक सञ्जाल टिकटकमा चलेको ट्रेन्ड अनुसार उनीहरूले विद्यार्थीको पोशाक लगाएर, परिचय पत्रसहित कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनेका छन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले प्रदर्शनका लागि अनुमति दिएको छ ।

यसैबीच नेकपा एमालेकाे विधान महाधिवेशनमा बोल्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेन जी’ पुस्ता विधि, कानूनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको बताउनुभएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation