
काठमाडौं भदौ २२// सामाजिक सञ्जाल तत्काल खुला गर्न माग गर्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले दबाब दिने भएका छन् । आइतबार (आज) दिउँसो २ बजे पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् ।
उक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरहरूलाई आग्रह गरिएको छ । सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई उनीहरूको सुझाव छ ।
“हामी सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।
“सरकारले फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ,” विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्वाध उपभोगको प्रत्याभूति गरेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।
संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य कार्य भएको बताइएको छ ।
“सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसद्बाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ, “यो कदमले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ ।”
सरकारको कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको भन्दै बालबालिकाको सिकाईमा दीर्घकालीनरूपमा प्रभाव पर्ने देखिएको विज्ञप्तिमा भनिएको छ ।