ग्रामीण क्षेत्रमा स्क्रब टाइफस रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । किर्नाजस्तो देखिने ‘माइट’ नामक सूक्ष्म कीराको टोकाइबाट सर्ने यो रोग ५० वटा जिल्लामा देखिएको छ ।
धेरैजसो बिरामी ग्रामीण क्षेत्रमा देखिएका स्वास्थ्य सेवा विभाग अन्तर्गतकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्खामा खेतबारीमा काम गर्दा तथा गाईवस्तुको स्याहार गर्दा माइटले टोक्ने सम्भावना धेरै हुने भएको यो रोग ग्रामीण क्षेत्रमा धेरै देखिने गरेको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो ।
सरकारको तथ्याङ्क अनुसार गएको साउन महिनामा १ हजार ४ सय १४ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गएको आर्थिक वर्ष देशभरमा गरी ८ हजार २ सय ४९ जनालाई यसको सङ्क्रमण पुष्टि भएको थियो ।
स्क्रब टाइफस भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने, लिम्फ ग्रन्थीहरू सुन्निने र सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन् । स्क्रब टाइफसबाट बच्न जङ्गल, झाडी वा घाँस भएको ठाउँमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउन, लामो जुता लगाउन, खाली खुट्टा नहिँड्न र कामबाट फर्केपछि शरीर राम्ररी जाँच गरेर किर्नाजस्तो देखिने माइटको टोकाइबाट बच्न डाक्टरहरूको सुझाव छ ।