शिवराजको १५ औं नगरसभा सम्पन्न, बजेटमा कमी

चन्द्रौटा, ९ असार । कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बराबरको बजेट बजेट विनियोजन गरेको छ । आज सम्पन्न भएको १५औं नगरसभामा नगर उप प्रमुख शिवकुमारी चौधरीले आर्थिक वर्ष २०८१ /०८२ को लागी उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

शिवराज नगरपालिकामा चालु आर्थिक वर्षको भन्दा लगभग तीन करोड रुपैयाँ घटाएर नगर सभामा आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा १ अर्ब २७ करोड ८ लाख ५० हजार बराबरको बजेट ल्याएको थियो।

नगरस्तरीय बजेटमा ५ करोड १८ लाख विनियोजित भएको छ । त्यस्तै वडा स्तरीय योजनामा १० करोड विनियोजन गरेको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो ।सामाजिक विकासतर्फ ५५ लाख विनियोजन, त्यस्तै शिक्षा तथा युवा तथा खेलकुदतर्फ ८ करोड ३५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख थापाले बताउनु भयो ।स्वास्थ्यतर्फ ३करोड ५० लाख विनियोजन हुँदा कृषि विकास तर्फ १ करोड विनियोजन भएको र पशु विकास तर्फ ५० लाख विनियोजन भएको शिवराज नगरपालिकाले जनाएको छ ।

निति तथा कार्यकक्रममा स्थानीय साधन श्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजनाहरू समावेश गरेको नगर प्रमुख थापाले बताउनु भयो । नगरभित्रका उद्यम गर्न चाहानेलाई ऋण उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

चालु वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा बजेट विनियोजन भएको उनले बताए । आगामी वर्ष २०८१/0८२ को वार्षिक नीति तथा कार्यक्रम मेयर रोजगार कार्यक्रम, पढ्दै पढाउँदै कार्यक्रम,उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई मेयर उपमेयर छात्रवृत्ति वितरण,नगरभित्रका चोकमा सिसिटिभी क्यामरा लगायतका कार्यक्रम समेत समावेश गरिएको छ । पशु बिरामी भएको खण्डमा अन कल सेवा सुरु गर्ने भएको छ । गत वर्ष हुन नसकेको मौवा प्रवर्द्धन कार्यक्रम यस वर्ष पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरसभाले शिवराज नगरपालिका वडा ५ लाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखा अधिकृत,कृषि विकास अधिकृत, पशु विकास अधिकृतहरुलाई समेत सम्मान गरिएको छ ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation