कञ्चन ४ का महिला तथा आमा समूहका सचिव र सहसचिवहरुलाई उद्घोषण तथा रिपोर्टिङ्ग तालिम शुरु

कञ्चन कञ्चन गाउँपालिका वडा नं. ४ रुपन्देहीले वडाका महिला तथा आमा समूहरुका सचिव र सह सचिवहरुलाई कार्यक्रम संचालन तथा रिपोर्टिङ्ग सम्बन्धी ३ दिने उद्घोषण तालिम संचालन गरेको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा कञ्चन साथी सञ्जालको समन्वय र कञ्चन सूचना तथा सञ्चार केन्द्र, कञ्चन ४ रुपन्देहीको आयोजनामा आज आइतवार देखि सो तालिम शुरु भएको हो।

तालिमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले वडाका महिलाहरुलाई हरेक कुराहरुमा सशक्तीकरण गरी समाज बिकासको एक असल, सभ्य र सवल नेतृत्व तयार गर्न उद्घोषण तालिमको आयोजना गरिएको बताउनु भयो। जहाँ महिलाहरुको नेतृत्व हुन्छ त्यहाँ इमान्दार र जिम्मेवार पुर्वक उनिहरुले प्राप्त गरेको जिम्मेवारीलाई अक्षरस पालना गरेर पुरा गर्ने भएकोले महिलाहरुमा नेतृत्व र ब्यक्तित्व बिकास गर्नमा तालिमले सहयोग गर्ने वडा अध्यक्ष खत्रीले बिश्वास ब्यक्त गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले महिलाहरुलाई उनिहरु भित्र रहेको क्षमतलाई प्रस्फुटन गर्ने कलाको बिकास गर्न सिकाई अनिवार्य रहने महसुस गरी योजना कितावमै समावेश गरेर बार्षिक कार्यक्रम तय गरिएकोले पालिका तथा वडाले गरेको लगानी बालुवामा पानी नबनाउन आग्रह गर्नु भयो।

यस्तै कार्यपालिका सदस्य सुशिला थापाले हामीसंग क्षमता छ तर उक्त क्षमतालाई प्रस्फुटन गर्ने अवसर र मञ्च प्राप्त नहुने भएकोले अव आफ्नो लागी आफैले नै मञ्च तयार गर्नु पर्ने आवस्यक रहेको बताउनु भयो। कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका कार्यपालिका सदस्य थापाले कुनै कार्यक्रममा सहभागी हुँदा होस या आफुले आयोजना गर्ने कुनै पनि कार्यक्रममा “म बोल्छु र यो कार्यक्रमको मुख्य आकर्षक म बन्छु” भन्ने आत्मबल निकालेर अगाडी बढ्न सकेमात्र आफु भित्र रहेको हरेक क्षमताले न्याय पाउने बिचार ब्यक्त गर्नु भयो। यसैगरी वडा सचिव चक्रपाणी पौडेलले तालिम लिनु र दिनु कुनै ठूलो बिषय नभएको तर आफुले लिएको तालिमबाट प्राप्त सिपको उपयोग गर्न आफु कत्तिको तत्पर रहन्छौं भन्ने मुख्य बिषय हुने बताउनु भयो। महिलाहरुको सशक्तिकरणका लागि पालिकाले गरेका लगानीलाई सही रुपमा उपयोग गरेर समाजमा प्रचलित “सरकारको लगानी बालुवामा पानी” भन्ने भनाईलाई असफल बनाउनुको कुनै बिकल्प नरहेको वडा सचिव पौडेलले बताउनु भयो।

कार्यक्रममा वडा नं. ५ का वडा सचिव चोलाकान्त पाण्डेले सिप सिकेर आफुमा सिमित गर्नु पनि आत्मघाती सरह हुने भएकोले आफु भित्र रहेको क्षमता र प्राप्त गरेको सिकाईहरुलाई ब्यबहारमा उतार्ने हिम्मत गर्ने ब्यक्तिहरु नै सफल हुने बताउनु भयो। पालिकाले महिलाहरुको क्षमता अभिबृद्धि गर्न बिभिन्न तालिमहरु संचालन गरेको हुन्छ तर कति उपयोगमा ल्याइयो र पालिकाले गर्व गर्न सक्ने योजनाको रुपमा स्थापित गर्न सकियो भन्ने कुराको अभिलेख तयार नगरे “आयो, खायो र गयो” भन्ने भनाई जिवित रहिरहने वडा सचिव पाण्डेले बताउनु भयो।

कञ्चन सूचना तथा सञ्चार केन्द्र, कञ्चनका प्रवन्ध सञ्चालक जगी लाल थापाले तालिम संचालन गर्नुको उद्धेश्य र औचित्यताबारे बताउनु भएको कार्यक्रममा सहभागीहरुको तर्फबाट श्रृजना भारती र गंगा सुनारले उद्घोषण तालिमबाट आफुले सिक्न चाहेको अपेक्षाकृत भनाई ब्यक्त गर्नु भएको थियो। कञ्चन सूचना तथा सञ्चार केन्द्र कञ्चन रुपन्देहीका प्रवन्ध सञ्चालक जगी लाल थापाको अध्यक्षता, कञ्चन साथी सञ्जालका कोषाध्यक्ष समिक्षा रानाको सञ्चालनमा शुभारम्भ गरिएको तालिमको उद्घाटन सत्रमा कञ्चन साथी सञ्जालका सचिव उषा सुनारले स्वागत गर्नु भएको थियो। तालिममा रेडियो कञ्चनका स्टेशसन म्यानेजर गोविन्द आचार्य, रेडियो मुक्तीका प्रतिमा गौतम र कञ्चन खवरका जगी लाल थापाले प्रशिक्षण दिनु हुने छ। तालिम कञ्चन गाउँपालिकाको दियो सभाहलमा माघ ९ गते सम्म सञ्चालन हुने छ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation