हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

कात्तिक २७, २०८० सोमबार

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ । मोटरसाइकलमा रहेका अरु दुई जना घाइते भएका छन् ।

ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटाैँडा–४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटाैँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल थापाले नै चलाएका थिए । मोटरसाइकलको पछाडि बसेका हेटाैँडा–२ सङ्गमचोककी १८ वर्षीया बेबिशा खड्गीको अवस्था गम्भीर रहेको छ । खड्गीलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ। यस्तै, हेटाैँडा–५ गर्दोइ बस्ने १९ वर्षीया विनिता थापाको हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation