
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले नेपालमा अझै शक्तिशाली भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । उनले नेपालको पश्चिम क्षेत्रमा झन्डै ५ सय वर्षदेखि महाभूकम्प नगएकोले ठूला भूकम्पको जोखिम रहेको बताए ।
भूकम्पको असर अध्ययनका लागि हाल जाजरकोट पुगेका डा।अधिकारीले भने,‘अहिले कर्णाली प्रदेशमा गएको भूकम्प नेपालमा यसअघि गइरहने भूकम्पजस्तै हो । नेपालको भौगोलिक अवस्थाअनुसार जमिनमुनी रहेको दक्षिण तर्फको इन्डियन प्लेट उत्तरतर्फको प्लेटसँग घर्षण हुँदा जुन शक्ति सञ्चय हुन्छ, त्यही जम्मा भएको शक्ति उत्पन्न हुने क्रममा बेला बेला भूकम्प जान्छ ।’
जाजरकोटमा करिब १५ किलोमिटर जमिनमुनिबाट सञ्चितशक्ति निस्किएको बताउँदै यस्ता भूकम्प जानका लागि गोरखादेखि पश्चिम र देहरादुनदेखि पूर्वको भागमा करिब ५ सय वर्षदेखि महाभूकम्प नगएकोले त्यसबेलादेखिको सञ्चित शक्ति निस्किरहने उनले बताए ।
ीबहmष् कगलचष्कभ दबलप
उनले रातोपाटीसँग भने,‘जमिनमुनिको सञ्चित शक्ति निस्कँदा जति ठूलो भूकम्प जान थाल्यो, त्यो दोहोरिने अवस्था निर्माण हुँदै जान्छ । जस्तै ८ म्याग्निुच्यूडभन्दा माथिका भूकम्पहरु धेरै अन्तरालमा आउने हुन्छन्, त्यो भन्दा तल ६ देखि ७ म्याग्नुच्यूडसम्मका दशकौंको अन्तरालमा आउने गर्छ । त्यो भन्दा साना केही वर्षको अन्तरालमा र ४ म्याग्नीच्युडभन्दा तलका भूकम्प जुन दैनिक रुपमा नै आइरहेका हुन्छन् ।’
नेपालमा ४ म्याग्नीच्यूडभन्दा माथिको भूकम्प जाँदा मानिसले थाहा पाउने र भूकम्प मापन केन्द्रले पनि जानकारी गराउने गरेको उनले बताए । हामीले थाहा नपाएपनि ४ म्याग्नीच्युडभन्दा तलका धेरै भूकम्प दैनिक रुपमा जाने गरेको उनले बताए ।
उनले भने,‘यो वर्ष एकैपटक बझाङमा पनि गयो, त्यसअघि त्यत्रै भूकम्प डोटीमा गएको थियो । २०५८ सालतिर बैतडीमा पनि भूकम्प गएको थियो । साना भूकम्प पहिलेदेखि नै गइरहेको हो । पृथ्वीको भूवनोटअनुसार कतै बलियो ठाउँ भएर जमिनमुनि धेरै समयसम्म शक्ति सञ्चित भएको हुन सक्छ र पछि ठूलो भूकम्पको रुपमा जान सक्छ । कुनै कमजोर भूवनोट भएको ठाउँमा भने थोरै शक्ति जम्मा हुँदा पनि छिटो र साना भूकम्प जाने हुन्छ ।’