युवाहरू मारिएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीहरूको प्रदर्शन क्रममा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । गएराति वक्तव्य जारी गर्दै उहाँले संवैधानिक संस्थाहरूका संरचना जोगाउने प्रयास गर्दा यस्तो अप्रिय दुर्घटना भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले मृतकका परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

घटनाको छानबिन र विश्लेषण गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री ओलीले वक्तव्यमा भन्नुभएको छ, ‘हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद परिस्थिति उत्पन्न भयो ।’

जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘हामी जेन–जी पुस्ताको माग सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरूका कार्यालयमा तोडफोड र आगजनी गरी क्षति पुर्याउने घटना भए र ती संस्थाका संरचना जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो ।’

प्रदर्शनका आयोजक स्वयम्ले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरूले तोडफोड र आगजनी गरेको र यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नुपर्ने स्थिति उत्पन्न भएको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख छ ।

© 2026 सुरभी खबर All right reserved Site By : Himal Creation